|
विगत ७ वर्षदेखि निरन्तर गैरआवासीय नेपाली संघ रुस राष्ट्रिय समन्वय परिषद्ले रूस दिवसको अवसर पारेर बनभोजको आयोजना गर्दै आइरहेको छ । यस वर्ष पनि १२ जूनकै दिन मस्को सहरबाट बाहिर करिब १०० किलोमिटर टाढा इस्त्रा नदीको रमाइलो तटमा बनभोज कार्यक्रम आयोजना गरिएको थियो ।
यस सालको बनभोजमा नेपालबाट मस्को आइरहेको प्रतिनिधिमण्डलको पनि समुपस्थिति रहेको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मशताब्दी मनाइने परिप्रेक्ष्यमा \'जय पृथ्वी - इभान मिनायेभ\' स्रष्टा-सम्मानद्वारा विभूषित नेपालका लब्धप्रतिष्ठ वरिष्ठ साहित्यकार डा. प्रो. गोविन्दराज भट्टराई तथा डा. ध्रुवचन्द्र गौतमज्यूका साथै मस्कोमा नेपालसम्बन्धी फोटो-प्रदर्शनीका लागि किरण चित्रकार तथा अनलाइन पत्रिका \'स्वतन्त्रनेपाल\' -फ्री नेपाल डट कम) को दशौं वार्षिकोत्सवको सन्दर्भमा सम्पादक दिनेश बस्नेत मस्को आउनुभएको थियो ।बेलारूसको राजधानी मीन्स्कबाट डा. जीरजगोविन्द श्रेष्ठ तथा रूसको साँस्कृतिक राजधानी सेन्ट-पीटर्सबर्गबाट डा. बुद्धिराज खरेल लगायत नेपालबाट आइरहनुभएका अन्य अतिथिहरुको पनि त्यहाँ उपस्थिति रहेको थियो । सधैं आ-आफ्नो काम र व्यवसायमा व्यस्त रहने नेपाली समुदाय त्यस दिन भने बिहान ११ बजेदेखि नै त्यस रमणीय स्थलमा एक-आपसमा भलाकुसारी, कुराकानी र भेटघाटमा रमाइरहेका देखिन्थे ।
त्यस दिन बनभोज कार्यक्रमका अतिरिक्त एकातिर महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मशताब्दी तथा \'फ्री नेपाल डट कम\' को दशौं वार्षिकोत्सवको सन्दर्भमा कविता प्रतियोगितालगायत साहित्यिक गोष्ठीका साथै बरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज रूस शाखाको तर्फबाट कदर-पत्र प्रदान गरी सम्मान गरिएको थियो भने अर्कोतिर बालबालिकाहरुको खेलकूद तथा चित्रकला प्रतियोगिताका साथै विभिन्न खेलकूद प्रतियोगिता आदिको पनि कार्यक्रम थियो ।
सम्पूर्ण खेलकूद कार्यक्रमको संचालनको जिम्मा नेपाली खेलकूद समाज, रसियाले लिएको थियो । साना बालबालिकाहरुको फुटबल प्रतियोगिता र वयस्कहरुका लागि भलिबल र फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो । भलिबलतर्फ जम्मा आठ टीमहरुले भाग लिएका थिए । विभिन्न क्षेत्रहरुको आधारमा ती टीमहरु भेदेन्खा, गार्बुश्का, उदएन -जनमैत्री विश्वविद्यालय), अनमोल, चिर्किजोभ्स्की, सेभास्तोपोल-क, सेभास्तोपोल-ख र सेभास्तोपोल-ग भन्ने नामले परिचित थिए । फुटबल प्रतियोगितातर्फ जुनियरतर्फ २ टीम र सीनियरहरुमा ६ टीमहरू -भेदेन्खा, गार्बुश्का, उदएन -जनमैत्री विश्वविद्यालय), मादी -मास्को सडक निर्माण इन्स्टीच्यूट, प्राविधिक विश्वविद्यालय), चिर्किजोभ्स्की र सेभास्तोपोल) को सहभागिता रहेको थियो ।
हरेक टीमका खेलाडीहरुले छातीमा \'एाआरएन रसिया\' अंकित विभिन्न रङ्गका गन्जीहरु लगाइराखेको हुँदा खेलको मैदानमा रङ्गीन वातावरण व्याप्त देखिन्थ्यो । जुनियर फुटबल प्रतियोगिता ३-३ गोलको बराबरीमा टुंगिएको थियो भने सीनियरतर्फ भलिबल प्रतियोगिताको फाइनलमा भएको प्रतिस्पर्धात्मक खेलमा सेभास्तोपोल-कले सेभास्तोपोल-खलाई २-० सेटले हराई प्रथम स्थान प्राप्त गरेको थियो ।
त्यसैगरी फुटबलको फाइनलमा उदएन -जनमैत्री विश्वविद्यालय) ले चिर्किजोभ्स्की टीमलाई पेनाल्टीमा ५-३ को अन्तरले हराई प्रथम स्थान हासिल गरेको थियो । फुटबल प्रतियोगितामा विजयी टीम उदएन -जनमैत्री विश्वविद्यालय) संग रूसका लागि नेपाली राजदूत महामहिम सूर्यकिरण गुरुङको नेतृत्व -क्याप्टेन) मा डा. उप्न्द्र महतो -अध्यक्ष, एनआरएनए आईसीसी), जीवा लामिछाने -सदस्य, आईसीसी), डा. जुगल भुर्तेल -एनआरएनए केन्द्रीय प्रवक्ता), किरण चित्रकार )निर्देशक, नेपाल टेलिभिजन), डा. सूर्यप्रसाद रिजाल -एनआरएनए, रूस, निवर्तमान अध्यक्ष), खेम लामिछाने -अध्यक्ष, खेलकूद समाज), सन्तोष के.सी. -उपाध्यक्ष, एनआरएनए, रूस), विदुर पोखरेल र घनश्याम थापा समावेश टीमले \'सुपर कप\' खेल खेलेको थियो ।
अति नै रोमाञ्चक उक्त खेल १-१ को बराबरीमा टुंगिएको थियो । भलिबल खैलमा सर्वश्री खेम लामिछाने, आचार्य कुशल निरौला, रामेश्वर गौतम र डां इन्द्र अधिकारी तथा फुटबल खेलमा डा. जुगल भुर्तेल, प्रवीण गौचन, धनेश झा, प्रवीण श्रेष्ठ र संजीव शर्माले रेफ्री र लाइन्सम्यानको भूमिका निर्वाह गर्नुभएको थियो ।
भलिबल प्रतियोगितामा प्रथम र द्वितीय हुने सेभास्तोपोल-क र सेभास्तोपोल-ख तथा फुटबल प्रतियोगितामा प्रथम र द्वितीय हुने उदएन -जनमैत्री विश्वविद्यालय) र चिर्किजोभ्स्की टीमहरूलाई महामहिम राजदूत सूर्यकिरण गुरुङ, एनआरएनए आईसीसीका अध्यक्ष डा. उपेन्द्र महतो र एनआरएनए रूसका अध्यक्ष डा. मणिराज पोखरेलले शिल्ड तथा प्रमाणपत्रहरू प्रदान गर्नुभएको थियो । त्यसैगरी भलिबल प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित कृष्ण भूषाल -सेभास्तोपोल-क) र फुटबल प्रतियोगितामा उत्कृष्ट घोषित खेलाडीद्वय डा. सचिन शाक्य र मिराज मल्ल -जनमैत्री विश्वविद्यालय) लाई उत्कृष्ट खेलाडीको शिल्ड र प्रमाणपत्र प्रदान गरिएको थियो ।
चहकिलो घाम संगसंगै बेला बेलाम परेको हल्का वर्षाले खेलाडी तथा दर्शकहरुलाई शीतलता प्रदान गरिरहेको थियो । गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषदद्वारा आयोजित रमाइलो बनभोज कार्यक्रममा मस्कोस्थित नेपाली राजदूतावास परिवार, नेपाल सीआइएस रूस उद्योगवाणिज्य संघ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज रूस शाखा, नेपाली नारी निकुञ्ज, नेपाली छात्रसंघ, नेपाली खेलकूद समाजका पदाधिकारीहरु लगायत नेपालबाट पाल्नुभएका वरिष्ठ साहित्यकारद्वय डा. प्रो. गोविन्दराज भटृराई तथा डा. ध्रुवचन्द्र गौतम, नेपाल टेलिभिजनका निर्देशक किरण चित्रकार तथा पत्रकार दिनेश बस्नेत एवं रुस-नेपाल मैत्री एवं सहयोग समाजका अध्यक्ष अलेक्सान्द्र सोलोभयोभ, उपाध्यक्षद्वय भिक्टर सिभ्याकोभ तथा नेल्ली स्तेपानोभा र रसियाली युवा प्राच्यविद एवं कवि माक्सिम दुबायेभका साथै इस्त्रा नदीको रमणीय तटमा त्यस दिन उपस्थित रूसमा बसोवास गर्ने करिब ४०० नेपालीहरूले बनभोज र खेलकूद कार्यक्रमको भरपूर मनोरञ्जन लिइरहेका थिए । |