 |
रूसमा बसोवास गरिरहेका विभिन्न देशहरूका आप्रवासीहरूको संस्था ‘रूस आप्रवासी संघ’ तथा रूसका व्यवस्थापिका एवं कार्यपालिका निकायहरूलाई परामर्श दिनका लागि राष्ट्रपतिको निर्देशनअनुसार गठित देशका वरिष्ठ व्यक्तिहरूको प्रतिनिधित्व गर्ने सदनको रूपमा रहेको रूसको सामाजिक सभाको संयुक्त आयोजनामा रूसको राजधानीको केन्द्रमा मास्को नदीकै किनारामा स्थित भव्य ‘प्रजिडेन्ट होटल’ को सभाकक्षमा ‘रुस आप्रवासी संघ’ को दोस्रो फोरुम सुसम्पन्न भएको छ । शरणार्थीहरूको समस्यासम्बन्धी संयुक्त राष्ट्र संधीय नियोग, मानव-अधिकार संस्था, अर्थाडक्स चर्च र इस्लाम धर्म आदि विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरू तथा विभिन्न देशका प्रतिनिधिहरूका साथै त्यस फोरुममा गैरआवासीय नेपाली विश्वसंघका संरक्षक डा. उपेन्द्र महतोका साथै अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष जीवा लामिछानै, राष्ट्रिय समन्वय परिषद् रूसका अध्यक्ष मणिराज पोखरेल, रूस सीखाईएस नेपाल उद्योगवाणिज्य संघका उपाध्यक्ष डा. भीष्म आचार्य तथा महासचिव रवीन्द्र भट्टराईको पनि उपस्थिति रहेको थियो ।
रूस महासंघको राजकीय दूमाका सभामुख बोरिस गि्रज्लोभ, रूसका राष्ट्रिपतिको निर्देशनालयका पदाधिकारी सेर्गेइ नारिश्किन आदि विभिन्न व्यक्तित्व एवं संस्थाहरूबाट ‘रूस आप्रवासी संघ’ को दोस्रो फोरुमको नाममा सन्दैशहरू प्राप्त भएका थिए । रूसको सामाजिक सभाका प्रतिनिधि अलेक्सान्द्र ब्रोद तथा ‘रूस आप्रवासी संघ’ का अध्यक्ष महम्मद आमिन मजुदारलगायत सभामञ्चको अध्यक्षमण्डलमा रहेका विभिन्न महानुभावहरूबाट आ-आफ्ना मन्तव्यहरूमा रूसमा बसोवास गरिरहेका संसारका विभिन्न देशका आप्रवासीहरू तथा रसियालीहरूबीच सौहार्दपूर्ण सम्बन्ध विकासमा ‘रूस आप्रवासी संघ’ को उपादेयता र महत्वबारे प्रकाश पारिनुका साथै समान-अहोरात्रको शुभ मुहूर्तमा २१ मार्चका दिन आरम्भ हुने खगोलीय नववर्षको उपलक्ष्यमा ककेसियावासीहरूले मनाउने नाब्रुस चाडको सन्दर्भमा पनि शुभेच्छा व्यक्त गरिएको थियो ।
गैरआवासीय नेपाली संघको तर्फबाट डा. उपेन्द्र महतोले रूसमा रहेका विभिन्न देशका आप्रवासीहरूलाई एकबद्ध पार्ने र उनीहरूका समस्याहरूको समाधानमा योगदान पुर्याउने ‘रूस आप्रवासी संघ’ को दोस्रो फोरुमको मञ्चबाट बोल्दै राम्रो अवसर पाएर रूसमा आएका विदेशी आप्रवासीहरूले रूसको संस्कृति र रीतिरिवाजलाई आत्मसात् गरी रूसको विकासमा समेत योगदान पुर्याउने हुँदा रूसको सामाजिक सभा आदि विभिन्न संघसंस्थाबाट रूसको आप्रवासनसम्बन्धी नियम-कानून बढी उदार बनाउने दिशामा पहल गरिनु आवश्यक छ भनी विशेष जोड दिनुभयो । उहाँले आजको भूमण्डलीकरणको युगमा आप्रवासनको प्रक्रिया संसारभरि नै चलिरहेको हुँदा नभई नहुने कुरा भोलिको दिनलाई नपर्खीकन यस दिशामा आजै पाइला चाल्नु जरुरी भएकोतर्फ पनि औल्याउनुभयो ।
हाल रूसमा बसोवास गरिरहेका सुदूरवर्ती राष्ट्रका आप्रवासीहरूको यस संगठनको स्थापना सन् २००७ को २७ फेब्रुअरीका दिन भएको हो । यस संस्थाले रूसमा कार्यरत र बसोवास गरीरहेका विभिन्न देशका आप्रवासीहरूलाई रूसको ऐनकानून, रीतिरिवाजब आदिबारे अवगत गराउनुका साथै रूसी मित्रहरूलाई पनि आफ्नो देशको संस्कृतिबाट परिचित गराउन र आफ्नो संस्कृतिको जगेर्ना गर्न पनि सक्दो योगदान गरिरहेको छ । स्मरण रहोस्, आगामी अप्रीलमा ‘रूस आप्रवासी संघ’ को पहलमा नेपाल, भारत, श्रीलङ्का, बंगलादेश, लाओस आदि दक्षिण तथा दक्षिण-पूर्व एशियाका देशहख्मा प्रचलित नयाँ वर्षको उत्सव मनाउने योजना रहेको छ । नयाँ वर्षको उपलक्ष्यमा विभिन्न देशका प्रतिनिधिहरूको सहयोगबाट खेलकूद तथा सांस्कृतिक प्रतियोगिता सम्पन्न हुनेछ । त्यसमा रूसमा रहेका नेपालीहरूको प्रतिनिधित्वको लागि रूस सीआईएस नेपाल उद्योतवाणिज्य संघले संयोजकत्व गर्ने भएको छ । |